काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ।
काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका अनुसार महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शनमा जान लागेको हो।
प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको उनले जनाए। प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।
काठमाडौंमा भने दिउँसो १ बजेदेखि प्रदर्शन सुरु गर्ने उनले जनाए।
उनले भने, बिभिन्न स्थानबाट निकालिने र्याली शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत हुनेछ।
उनका अनुसार विरोध सभालाई काठमाडौंमा उपलब्ध बिभिन्न नेताहरुले सम्बोधन गर्नेछन् ।
चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।
बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय एवम् भेनेजुयला प्रकरणमा सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाले अमेरिकाको विरोध गरेको विषयबाट पनि कांग्रेस बेखुस बन्दै आएको छ ।