काठमाडौँ : जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड विनियोजन गरेकोमा दुईवटा रेल खरिदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ ।
विभागकाअनुसार दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएको छ ।
मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि खरिद प्रक्रिया शुरु भएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारीस्तरबाटै रेलका इञ्जिन खरिद गर्न लागेको हो ।
सरकारीस्तरमा नै दुई वटा रेल खरिद गरिनेछ । त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ । केही प्रस्ताव भने प्राप्त भइसकेको छ ।