माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास, २०७७ फागुनमा निर्माण सम्पन्न हुने लक्ष्य
नुवाकोट: माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना चाहिन्छ”, उनले भने ।
मन्त्री पुनले अहिले ‘रन अफ रिभर’ ९बहाव०मा आधारित धेरै आयोजना भएकाले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको बताए । उनले जलविद्युत्मा नागरिकको लगानीको अवसर प्रदान गर्न ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको कार्यान्वयन गरिरहेको समेत बताए।
मन्त्री पुनले जलविद्युत्मा आत्मनिर्भर भएमा देशले भोगिरहेको व्यापार घाटासमेत घट्ने र सरकारले लिएको दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्यलाई हासिल गर्न समेत सहयोग पुग्ने बताए । कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजनालाई समयमा नै सम्पन्न गराउन स्थानीयवासीको सहकार्य र भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्री बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बबताए । उनले आयोजना तोकिएको समयभन्दा अगाडि निर्माण सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताए ।
अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ । प्रवद्र्धक कम्पनी र बैंकबीच २०७५ भदौ ४ मा ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग २०७५ भदौ ६ गते विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० भइसकेको छ ।
विद्युत् बिक्रीबाट वार्षिक करीब रु एक अर्ब ८९ करोड आम्दानी हुने कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए । आयोजनाको विद्युत् आयोजनाको विद्युत् गृहबाट करीब तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्री बी सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको निर्माण थालिसकेको छ ।