काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए ।
महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।