काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै वर्षदेखि अचम्मको कुरा अहिले नेपालमा भएको र त्यो यो सरकारले एक वर्ष पूरा गरेको दिन त्यो पनि पर्सी ३ गते ।
सरकारको वर्ष दिन पूरा हुँदैछ । तर, अब वर्ष दिन पूरा हुनेमात्रै होइन, बहुमतको सरकार छ, यो सरकार पाँच वर्ष आरामसँग जान्छ । स्थिर सरकार पनि छ । बहुमतसहितको छ, उनले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा सभामा मन्तव्य व्यक्त दिंदै भने।
उनले आफ्नो एकवर्षे कार्यकालको सफलता सुनाउँदै भने– ‘हेर्दाहेर्दै भैंसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो ! नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’
सरकारले प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि दुईवटा प्रयासहरु भइरहेको बताए, एउटा– नेकपामा विभाजन ल्याउने । र, अर्को–अन्तरराष्ट्रिय सम्बन्धलाई बिगार्ने ।
नेकपामा फाटो ल्याउने प्रयास र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा प्रधानमन्त्रीको भनाई पढौं उनकै शब्दमा –
‘जनताले देख्न खोजेको दिन यही हो’
हामीसँग बहुमत छ । पर्सि ३ गते सरकारको एक वर्ष पुग्दैछ । धेरै वर्षदेखि अचम्मको कुरा हो यो नेपालका लागि । सरकारको वर्ष दिन पूरा हुँदैछ । तर, अब वर्ष दिन पूरा हुनेमात्रै होइन, बहुमतको सरकार छ, यो सरकार पाँच वर्ष आरामसँग जान्छ । स्थिर सरकार पनि छ । बहुमतसहितको छ ।
हामीले यस वर्षलाई आधार वर्ष भनेका छौं । संविधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण, संरचनाहरु तयार, यी सबै कुराहरु मोटामोटी टुंगिएको छ । अब निर्मित संरचना, निर्मित कानुन, निर्मित प्रणाली, सुस्पष्ट नीति, बहुमतको सरकार, भिजनसहितको सरकार, काम गर्ने सरकार । जो, दिनैपिच्छे नयाँ नयाँ कुरा ल्याएको ल्यायै छ, अगाडि बढाएको बढायै छ ।
हुन सक्छ– एउटा भैंसी हेरेर एउटा जीवले भन्छ– मरेदेखि खान्थें ।
हेर्दाहेर्दै भैंसी ब्यायो । दूध पनि दियो । पाडी पनि पायो ।
मर्ला र खाउँला भन्ने जीवले भन्छ– यही दिन देख्नुपर्ला भनेर, यही दिन देख्नका लागि म बाँचेको थिएँ आजसम्म ! कुन दिन देख्नुपर्यो !
तर, भैंसीका लागि, भैंसीका पाडाका लागि, भैंसी पाल्नेका लागि, सप्पैका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताले देख्न खोजेको दिन यही हो ।
नेपाली जनताले आफैंले बनाएको संविधान देख्न खोजेको हो । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र देख्न खोजेको हो । लोकतन्त्र, समावेशितासहितको लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र, महिलाहरु अगाडि बढेको लोकन्त्र, पछाडि परेका समुदाय अगाडि बढेको लोकतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, जनताले छानेका निकायहरु, जनताले छानेको बहुमतको सरकार । सुस्पष्ट नीति । स्वच्छताको प्रतिवद्धता र त्यसअनुसारको गतिशील सरकार । यही नेपाली जनताले देख्न खोजेको हो, जसबाट अब हाम्रो यात्रा सुशासन र समृद्धितर्फ, विकासतर्फ अगाडि बढ्यो ।
यस ऐतिहासिक दिनलाई हामी हरेक वर्ष श्रम दिवस वा रोजगारी दिवसका रुपमा मनाउने छौं । हामीले त्यतिकै घोषणा गरेको हैन, कोही नेपाली भोकै बस्नुपर्दैन । कोही नेपालीले भोकले मर्नुपर्दैन । कोही नेपालीलाई जाडोले कठांग्रिएयर मर्न दिइने छैन । हामीले अभियान सञ्चालन गरेका छौं ।
भैंसी ब्याएर दूध दिन थालेको कुरो सुनिसकेपछि अब सुनौं ‘बोक्सी’ को किस्सा । प्रधानमन्त्री ओलीले नेकपाभित्रको अन्तरविरोधबारे जवाफ दिने सिलसिलामा ‘बोक्सी’ उपमा प्रयोग गरेका हुन् । यसलाई प्रधानमन्त्रीकै शब्दमा सुनौं–
‘यस्तो प्रयास चल्नेवाला छैन’
प्रयासहरु विभिन्न भएका छन् । म देखिरहेको छु, अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिस, ओहो ! थामिसक्नु छैन ।
बाका कानमा गएर भन्ने– बा, आमा बोक्सी छ । आमाका कानमा गएर भन्ने, आमा, बा रक्स्याहा भैसके ।
दुबैले पत्याउँदैनन् । फेरि भन्ने– बा पत्याउनुहुन्न, के गर्ने ? आमा भरे मुख सुँघ्न आउँछिन् ।
आमाको कानमा गएर भन्ने– तपाई पत्याउनुहुन्न, गएर मुख सुँघ्नोस् न । कस्तो गन्हाउँछ ।
नभन्दै आमाले गएर मुख सुँघ्छििन् । रक्सी त गन्हाएको हुँदैन, तर बाबुलाई पनि पक्का हुन्छ कि मुख त सुँघ्न आई, बोक्सी त रहिछ !
यस्ता प्रयासहरु थुप्रो भएका छन् । तर, प्रयास नगरे पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लाउनेछन् । यहाँ त्यो कुनै चल्नेवाला छैन ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने प्रयास’
प्रधानमन्त्री ओलीले घरेलु राजनीतिमा मात्रै होइन, अन्तरराष्ट्रिय राजनीतिमा पनि नेपालको सम्बन्ध बिगार्ने कोसिस भइरहेको बताए । ठूलो षडयन्त्र भइरहेको जसरी प्रस्तुत भएका प्रधानमन्त्रीले षडयन्त्रकारी को हुन् भनेर खुलाएन् तर, सरकारविरुद्ध ठूलै चलखेल भएको दाबी गरे ।
अन्तरराष्ट्रिय सम्बन्धका विषयमा ‘भेनेजुएला प्रकरण’ को नाम नलिई प्रधानमन्त्री ओलीले यसो भने–
म देखिरहेको छु, अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार्ने खुब कोशिस भइराखेको छ । खुब कोसिस । मैले सार्वभौम सत्ताको कुरा गरें । कसैले भन्छ, यो सार्वभौम सत्ताको उल्लेख गर्नुपर्यो किन ? कोप्रति लक्षित छ ? स्वाधीनताको कुरा पनि गरेको थियो । स्वतन्त्र निर्णयाधिकार र यसको अभ्यासको पनि कुरा गरेको थियो, कोप्रति लक्षित छ ? ब्ल्यांक फायर होइन यो, ताकेको छ कतै । यता, उता सबतिर । विभिन्न यस्ता प्रयासहरु तपाईहरुले देखिरहनुभएको छ । ती प्रयास पनि कुनै काम लाग्ने छैनन् ।
नेपाल सुस्पष्ट विदेश नीति, परराष्ट्र सम्बन्धका उपयुक्त आधारहरुका साथ खुलस्त, पारदर्शी ढंगले अन्तरराष्ट्रिय मञ्च र छिमेक सम्बन्धहरुमा व्यवहार गरिरहेको छ, उत्रिएको छ । र, यस्ता कुनै कुराहरुको ठावैं छैन ।
एक ठाउँमा एउटा कुरो, अर्को ठाउँमा अर्को कुरो । मैले भन्ने गरेको छु– कसैका विरुद्ध कुनै कार्ड, कुनै छिमेकीका विरुद्ध कुनै कार्ड, कुनै मित्रका विरुद्ध कुनै कार्ड हामी खेल्दैनौं । दुनियाँमा हाम्रा कोही शत्रु छैनन्, सबै मित्रै मित्र छन् ।
हामी विश्व शान्तिको पक्षमा छौं । सबै राष्ट्रहरु स्वतन्त्र छन्, सार्वभौमसत्तासम्पन्न छन्, तिनको कदर हुनुपर्छ । कुनै समस्या छ भने त्यहाँका जनताले आफैं ती समस्या शान्तिपूर्वक समाधान गर्नुपर्छ, सम्वादको माध्यमबाट शान्तिपूर्ण ढंगले । हामी त्यस मान्यतामा छौं । बाह्य हस्तक्षेप वाञ्छनीय हुँदैन, त्यसो गरिनुहुँदैन भन्ने मान्यतामा छौं । यो संयुक्त राष्ट्र संघको बडापत्रको कुरा हो । पञ्चशीलका सिद्धान्तको कुरा हो, जसलाई हामीले पछ्याएका छौं । सम्मान गरेका छौं ।
त्यसकारण हाम्रा छिमेकीहरुसँग होस् वा अन्तरराष्ट्रिय मित्रहरु, कसैसँग पनि कसैले कुनै प्रकारको असमझदारी बनाउँछु भन्ने प्रयास गर्यो भने यो असफल प्रयास हुनेछ । बुद्धि पनि ठीक ठाउँतिर, देश विकासतिर लगाए भो नि, यस्ता नचाहिने नचाहिने कुरातिर किन लगाउनु ? समयमात्र खेर जान्छ ।
यसकारण मेरो आग्रह छ, हामी एउटा नयाँ संकल्प लिएर अगाडि बढिरहेका छौं । यतिबेला यस प्रयासलाई भड्काउने, यस प्रयासलाई बिथोल्ने, जनतालाई त्रसित बनाउने वा तोडफोडकारी ढंगले जाने, हिंसात्मक ढंगले जाने वा असन्तुष्टि भड्काउने अथवा असमझदारी र भ्रम फिँजाउनेखालका कुराहरु लोकतन्त्रको पक्षमा छैनन्, जनताको पक्षमा छैनन् । अग्रमगनको पक्षमा छैनन् । त्यसकारण त्यस बाटोमा जानुहुँदैन । नेपालले स्पष्ट बाटो लिएको छ । सदाचारको बाटो । सुशासनको बाटो । विकासको बाटो ।