काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ३० दशमलब २ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६
प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई रु.५०५ अर्ब ४३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने
नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८
प्रतिशतले घटेको थियो ।
साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब ५२ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९७ अर्ब ७८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा ९५ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ६६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ६ करोड ५६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५५ करोड ९५ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.१० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३३ करोड रहेको थियो ।