काठमााडौं: भारतबाट भैरहवा र जनकपुर हुँदै हवाईजहाज प्रवेश गर्ने रुट कायम गराउन नेपाल र भारतले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा निवेदन दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार हवाई रुट कायम गराउन संयुक्त रुपमा अघिल्लो साता आवेदन दिइएको हो। रुटको सहमतिसँगै कार्यविधि र डिरेक्सन बनाउन संयुक्त निवेदन दिइएको गौतमले जानकारी दिए। यी रुटहरु अहिले एकतर्फी छन्। नेपालबाट उडेका जहाजले यी रुट प्रयोग गर्दै आएपछि नेपाल प्रवेश गर्दा भने सिमराकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ। यी दुई रुट कायम भएसँगै नेपाल प्रवेश र नेपालबाट बाहिरिँदा जहाजहरुले दुईतर्फी नै रुट प्रयोग गर्न पाउनेछन्।
झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा हवाई रुट थप्न सहमति दिन माग गर्दै आएको थियो। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणधिन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै अन्योल भएको थियो।
भैरहवा र जनकपुरका रुट कायम भएसँगै अहिले युरोप, मध्यपूर्वी मुलुक लगायतबाट आउने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्नेछ। सिमराको तुलनामा कायम हुने रुट सहज र छोटो हुनेछन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।