काठमाडौँ: ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता थिए ।
विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी सो मन्त्रालयको मन्त्रीका रुपमा विसं २०७४ चैत २ गते नियुक्त भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क अध्यापन (कोचिङ) को व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील थिए । उनि विद्यार्थी जीवनमा जेहेन्दार, लगनशील, अध्ययनशील र अनुशासित विद्यार्र्थीका रुपमा सुपरिचित थिए ।
उहाँको विसं २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्म भएको थियो । अधिकारीले आफ्नै गाउँको ब्रह्म ज्योति प्राथमिक विद्यालय शान्ति पँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि बरपाण्डेथुमबाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।
प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेबित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनुभएका उहाँले केही समयपछि विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गरे । विद्यालयदेखि नै राजनीतिमा क्रियाशील उहाँले आफूलाई अझ परिष्कृत गर्दै विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भएका थिए ।
विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य, विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र विसं २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएर विद्यार्थी राजनीतिमा आफूलाई अब्बल दर्जामा उभ्याउन सफल भएका थिए ।
विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुनुभएका अधिकारी विसं २०५३ मा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर उहाँको ‘संविधानसभा लोकतन्त्र र पुनः संरचना’ र समृद्ध नेपाल ९अ रोड टु प्रसपरीटी, अङग्रेजीमा अनुवाद० पुस्तक २०६३ प्रकाशित छ । विगत दुई दशकदेखि उहाँका सयाँै अनुसन्धान र राजनीतिक चेतनाका लेख छापिएका छन् । विसं २०४५ मा एक वर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारीले विभिन्न क्याम्पसमा अतिथिका रुपमा अध्यापन गरेका थिए ।
एशियाली विद्यार्थी सङ्गठन, विश्व प्रजातान्त्रिक युवा सङ्घलगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी सङ्गठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा भाग लिएका थिए ।
अधिकारी पञ्चायतकालमा विद्यार्थी आन्दोलन, स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताका पक्षमा क्रियाशील थिए । विसं २०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायतकालमा पटकपटक गरी छ महीना जेल र हिरासतमा बिताएका थिए ।
विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका अधिकारी विसं २०३९ मा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित भएका थिए । विसं २०४० मा इलाका पार्टी कमिटी, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ एवं त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय थिए । उनि विसं २०६० र २०६३ मा तत्कालीन नेकपा (एमाले) को जिल्ला सचिव भएका थिए । उनि २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचीत भएका थिए ।
विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित उहाँ सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत्, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासपोर्ट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यस्ता सवालका विकृतिविरुद्धको नेतृत्व गरेका थिए । संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए ।
संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गरेका उनि विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति भएका थिए । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिन अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील भूमिका खेलेका थिए । विभिन्न मुलुकको भ्रमण गरी नेपालको छवि उजिल्याउन पनि अधिकारीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।