काठमाडौँ: नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ ।
फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको थियो ।
तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हाएका थिए ।
अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारलाई सुझाव दिन नेकपा सचिवालयको बैठक पनि बसेको छ ।