पोखरा: पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिएको छ। तर प्रतियोगिताबारे न त आयोजक खुलेको छ, न नियमनकारी निकायलाई नै जानकारी छ। दिनुहँजसो प्याराग्लाइडिङ दुर्घटना भएपछि बल्ल प्रतियोगिताबारे चासो जागेको हो।
सराङकोटको आकाशमा आयोजना गरिएको यो प्रतियोगिताबारे नियमनकारी निकायलाई नै पत्तो छैन। प्रतियोगिताका लागि कतैबाट अनुमति पनि लिइएको छैन। हिमालयन ओपन कप नाम दिइएको यो प्रतियोगिता गत बुधबारदेखि एक साता चल्ने वेभसाइटमा उल्लेख छ। एफएआई–२ क्याटागोरी भनिएको यो प्रतियोगिता रसियाबाट पोखराको उडानका लागि आउने पाइलटको समूहले आयोजना गरिएको भन्ने उल्लेख भए पनि नियमनकारी निकायबाट अनुमति लिइएको छैन। सराङकोटको आकाशमा प्रतियोगिता हुने मात्र उल्लेख गरिएको छ। स्थानीय स्तरमा सहयोगी संस्था पनि खुलाइएको छैन।
पोखराको आकाशमा प्याराग्लाइडिङको कुनै पनि प्रतियोगिता गर्दा यहाँस्थित हवाई खेलकुद संस्था (एनएए), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति लिनुपर्ने हुन्छ। तर यो प्रतियोगिताका सहभागीले व्यक्तिगत उडानका लागि प्राधिकरणबाट अनुमति लिए पनि प्रतियोगिताबारे जानकारी दिएका छैनन्। पाइटलको व्यक्तिगत उडान अनुमति भने प्राधिकरणबाट लिइएको छ।
‘सोलो उडानको अनुमति लिएका छन्। अनि आफैंले प्रतियोगिता आयोजना गरेका छन्। यसबारे कसैलाई पत्तो दिइएको छैन। स्थानीय आयोजक पनि खुलाइएको छैन।’
पछिल्लो तीन दिनमा भएका चारवटा प्याराग्लाइडिङ दुर्घटनामा दुई विदेशी पाइलटको ज्यान गएको छ भने दुईजना घाइते भए। प्याराग्लाइडिङ व्यवसायीका अनुसार चारवटै दुर्घटनाका पाइलट सोलो (एकल) उडानमा थिए। प्याराग्लाइडिङमा यात्रुसहितको उडानलाई टेन्डम भनिन्छ। प्याराग्लाइडिङ दुर्घटनामै परेर पछिल्लो चार वर्षमा आठजनाले ज्यान गुमाएका छन्।