काठमाडौं : नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् ।
‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं,’ वरिष्ठ नेता खनालले भने, ‘तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’
स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी समिति बैठकबाट अनुमोदन गराउने बताएका थिए । तर त्यसयता एकता प्रस्तावमा सचिवालयमा छलफल नभएपछि असन्तुष्ट बनेका चार नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । कार्यदल विघटन गर्ने बेलामा पनि यी चार नेताहरू असन्तुष्ट भएका थिए । यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।