रुपन्देही: श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राखे ।
उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उनले आग्रह गरे । “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ”, उनले भने, “श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ ।” रोजगारीका लागि विदेशिने युवालाई रोक्न सुरक्षा योजना महत्वपूर्ण हुने मन्त्री विष्टको विश्वास छ । “श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ”, उनले भने, “श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ ।”
सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने मन्त्री विष्टले विश्वास व्यक्त गरे । उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै उनले उदार बनेर मजदूरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । उनले भने, “मजदूरको पीडाले उद्योगीलाई पनि पीडा हुन्छ, उनीहरुको मुहारमा खुशी छाउँदा उद्योगीको मुहारमा पनि खुशी छाउँछ ।” उहाँले सञ्चार संस्था, अस्पताललगायत सबै संस्थान र प्रतिष्ठानमा सो योजना लागू हुने बताए ।
प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अहिलेको मुख्य समस्या बेरोजगारी घटाउनु भएकाले सामाजिक सुरक्षा योजना कार्यान्वयन जरुरी रहेको बताए । उमेर छँदासम्म विदेशमै पसिना बगाउने, उमेर गएपछि स्वदेश फर्किंदा केही गर्न नसक्ने अवस्था हुने उनको भनाइ थियो । सामाजिक सुरक्षा योजनाबारे जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दहालले सामाजिक सुरक्षा योजना सबैको हितमा रहेको बताए । उनले भने, “योजना राम्रो छ, तर कार्यान्वयनका लागि सबैको सहयोग चाहिन्छ ।” योजना आगामी साउन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए ।