काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल वस्तु व्यापार घाटा २७.१ प्रतिशतले विस्तार भई रु.७८० अर्ब १९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.२ प्रतिशत रहेको थियो ।
समिक्षा अवधिमा सात महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भई रु.५३ अर्ब ८ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ २१.१ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जूटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधी लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा कुल वस्तु आयात २६ प्रतिशतले बढेर रु.८३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २४.८ प्रतिशत, चीनबाट भएको आयात ३६.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी
लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।