काठमाडौं: तामझामका साथ निष्काशन गरिएको माथिल्लो त्रिशुली–३ ‘बी’ अर्थात जनताको जलविद्युत् आयोजना अन्तर्गतको शेयर आवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा ३० कित्ता परेको छ।
जनताको जलविद्युत् आयोजना कार्यक्रम सार्वजनिक समारोहमा नै पहिलो शेयर आफूले किन्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
१० हजार आवेदन दिएको भए पनि जम्मा ३० कित्तामात्रै सेयर प्रधानमन्त्रीको भागमा परेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
आयोजनाको सेयर बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच बाँडफाँट गरिएको थियो । आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।
आयोजनाको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएका छन् ।
आईपीओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ ।
उक्त आईपीओका लागि प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार कित्ताकै लागि आवेदन दिएकी थिइन् । उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले भने १ हजार कित्ताका लागि आवेदन दिएका थिए । उनीहरुलाई कति कत्तिा सेयर पर्यो भन्ने खुलाइएको छैन ।