काठमाडौँ: भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै सकिएको छ ।
आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । अब घोषणा गर्न मात्र बाँकी छ ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि सुरुङ निर्माणले गति लिएको थियो ।
१२ दशमलव २१० किलोमिटरमध्ये अब जम्मा दुई मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए । बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गर्ने तयारी छ ।
बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन सोही दिन भेरी किनारमा निकालिनेछ ।
आयोजना अन्तर्गत हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘फल्टजोन’ मा पनि टीबीएमले सफलतापूर्वक काम गरेको बरालले बताए । जोखिमपूर्ण मानिएको उक्त चुरे पर्वत पार गरेसँगै यो नमूना आयोजना सफल हुनेछ ।
सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटोमा पानी बढी अर्थात् जमिन लेदो थियो ।
भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिञ्चाई सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।