काठमाडौँ: उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गरिएको माथिल्लो त्रिशुली थ्री बीमा एक हजार कित्ताका लागि आवेदन दिदा २० कित्तामात्रै परेको स्मरण गर्दै उनले यस पटक भने आफूलाई एक सय कित्ता पर्ने अपेक्षा गरिएको समेत सुनाए ।
‘माथिल्लो त्रिशुली थ्री बीमा प्रधानमन्त्री ज्यूले पनि आवेदन दिनु भयो, यसको सन्देश राम्रो गएको थियो, त्यसैगरी यि आयोजनाहरुमा पनि आकर्षण देखिने विश्वास लिएको छु’ पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले भने, ‘यसपाली पनि म एक हजार कित्ताका लागि आवेदन दिन्छु, कम्तीमा पनि एक सय कित्ता पर्छ कि भन्ने अनुमान छ ।’
मंगलबार नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।
यो आयोजनको जमरी पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो आयोजनाले उक्त पुँजीको १५ प्रतिशतको मात्रै शेयर आवेदन माग गरेको छ । यसको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको हो ।