काठमाडौं : पाँच दिनदेखि सरकारी चिकित्सकले सेवा ठप्प पार्दा मंगलबार पनि मुलुकभरका हजारौं बिरामीले उपचार पाएनन् । सरकारी अस्पतालमा बहिरंग सेवाको टिकट वितरण नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी बिचल्लीमा परेका छन् ।
संघीय सरकार मातहत राखेर समायोजन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि मुलुकभरका चिकित्सक आन्दोलित छन् । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा आन्दोलनरत चिकित्सकले आकस्मिकबाहेक सेवा बहिष्कार गरेका छन् । गोदानमा झन्डै १४ सय चिकित्सक आबद्ध छन् ।
मंगलबार पनि बहिरंग विभाग (ओपीडी) को टिकट वितरण गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनले भने, ‘दैनिक २५/३० जनाको अपरेसन हुन्थ्यो । अहिले ठप्प छ ।’ गाउँबाट आएका बिरामी शल्यक्रिया रोकिँदा अप्ठेरोमा परेका छन् । कैलाली, टीकापुरका मीनबहादुर सुनारले भने, ‘छोराको उपचारका लागि चन्दा मागेर आइयो । अपरेसन गर्ने डाक्टर नै आन्दोलनमा उत्रँदा कहिलेसम्म कुरेर बस्ने ? ’
शल्यक्रियाको मिति तोकिएका बिरामी पनि शड्ढयामै कुरिरहेका छन् । पत्नीको शल्यक्रियाका लागि पर्खिरहेका डोटी, शिख नगरपालिकाका धर्मसिंह बलायरले भने, ‘खर्च सकिएको छ । आफंै बिरामी हुने अवस्था छ ।’ उनले पत्नीलाई एक सातादेखि ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । यो समाचार अन्नपुर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन्