काठमाडौँ: चालू आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ प्रतिशत रहेको थियो ।
२०७५ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो ।
फागुन महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.० प्रतिशत, ५.६ प्रतिशत, ४.५ प्रतिशत र ६.३ प्रतिशत रहेको थियो ।
फागुन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ६.० प्रतिशत र भारतको ४.३ प्रतिशत रहेको थियो ।
फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टस्लगायतका वस्तुहरूको मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको हो ।
फागुन महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ७.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ११ प्रतिशतले वृद्धि भएको छ ।