काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चालु खाता घाटा विस्तार भई १९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. १५४ अर्ब ९९ करोड रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ५१ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४ अर्ब ७३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो र्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ६६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.११ अर्ब ९४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब २४ करोड रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड रहेकोमा २०७५ फागुन मसान्तमा रु.१०६१ अर्ब ७१ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ फागुन मसान्तमा ९ अर्ब ५७ करोड रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु.९८९ अर्ब ४० करोड रहेकोमा २०७५ फागुन मसान्तमा रु.९१४ अर्ब ४२ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ फागुन मसान्तमा रु.१४७ अर्ब २९ करोड पुगेको छ । २०७५ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ ।