काठमाडौं : सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको शुक्रबार (वैशाख ६ गते) देखि आइपीओ बिक्री खुला हुने भएको छ । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गर्न लागेका हुन् । न्यूनतम १ हजार रुपैयाँमा १० कित्ताकै लागि आवेदन दिन पाइनेछ ।
सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यता, रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसमध्ये ४% (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५% (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ ।
दुवैमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनु पर्नेछ । रसुवागढीको आइपीओमा सिद्धार्थ क्यापिटल र सान्जेन जलविद्युत कम्पनीमा नागरिक लगानी कोषले बिक्री प्रबन्धकको काम गर्नेछन् । यी दुवै कम्पनीको आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
सान्जेन र रसुवागढीको आइपीओमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।