काठमाडौं: एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ।
आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ।
टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेलले तिर्नु पर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि ठूला करदाताका कार्यालयले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थियो।
कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो तर एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी गरेको छ।
ठूला करदाता कार्यालयले गरेको कर निर्धारणको बिरुद्ध सर्बोच्च अदालत पुगेको एनसेल प्रालिले आय करको भिन्न दफा पकडेर बढि कर लगाइएको दाबी गरेको छ।
एनसेलका नाममा ऐनको दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्नेमा ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १०१ बमोजिम ३९ अर्ब ६ करोड रुपैयाँ निर्धारण गरेको एनसेलले जनाएको छ।
ठूला करदाता कार्यालयबाट १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजार रुपैयाँलाई कारोवारमा भुक्तानी भएको मानी त्यसमा लागत खर्च कटाई कर निर्धारण भएको छ। कम्पनीले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० रुपैयाँ कर र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ बुझाएको थियो।