काठमाडौं: गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल २०७२ सालमा बिक्री हुँदा उसले एक खर्ब ४३ अर्ब रुपैयाँ नाफा गरेको सरकारको भनाइ छ। नाफाअनुसार कानुनले तोकेको पुँजीगत लाभकर नतिरेर एनसेलले लामो समयदेखि बहानाबाजी गरिरहेको छ। सरकारले निर्धारण गरेको लाभकर बढी भएको भन्दै एनसेलले फेरि सोमबार सर्वोच्च अदालतमा मुद्दा हालेको छ।
‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर एनसेलले लाभकर तिर्न अनेक बहानाबाजी गरिरहेको भन्दै उसका सिम बहिष्कार गर्न विभिन्न विद्यार्थी तथा युवा संगठनका नेताले अपिल गरेका छन्। विद्यार्थी तथा युवा संगठनका नेताहरूले विज्ञप्ति जारी गरी एनसेल सिम प्रयोग नगर्न÷नगराउन सबैलाई आग्रह गरेका हुन्। ‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म यसका सिम प्रयोग नगर्न÷नगराउन मातहतका सबै साथी र न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्छौं,’ अनेरास्ववियु अध्यक्ष नविना लामा, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘२४ घन्टाभित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिनेछ।’
एनसेलले सर्वाेच्च अदालतको फैसला र करदाता कार्यालयले दिएको सात दिनको समयसीमाभित्र कर नतिरी आनाकानी गरेको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतको फैसलालाई अवज्ञा गर्ने एनसेलको रबैया खेदजनक भएको ती विद्यार्थी संगठनका नेताहरू बताएका छन्। ‘कर तिर्न नपरोस् भन्ने मनसायले एनसेलले गर्ने कुनै पनि चालबाजी हामीलाई किमार्थ स्वीकार्य छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘जुनसुकै कानुनी प्रक्रिया अपनाएर भए पनि कर असुल गर्न सरकार र सम्बद्ध निकायसमक्ष अनुरोध गर्छांै।’ एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिनेजस्ता राष्ट्रघाती निर्णय नगर्न पनि विज्ञप्तिमार्फत सम्बद्ध निकायलाई चेतावनी दिइएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।