काठमाडौं: पछिल्लो समय लगातारजसो पुँजी बजारमा चमक आइरहेको छ । सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भएकाले पनि लगानीकर्ता झुम्मिएका हुन् । अहिले सूचीकृत कम्पनीहरुले नाफा बढाउँदै लगेका छन् ।
अधिक आपूर्तिको समस्या पनि क्रमशः समाधान हुँदै गएको छ । यसले पनि बजारमा नयाँ चमक ल्याएको हो । सरकारले पुँजी बजार सुधारका काम धमाधम अघि बढाएको छ । सुधारका पहलले पनि बजारमा काम गरेको हो । अब बजार विस्तारै बुलिस प्रवृत्तिमा अघि बढ्ने विश्लेषणहरु भइरहेका छन् ।
यसैक्रममा आम लगानीकर्ताले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष के हो भने बजार निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । मात्र बजारको प्रवृत्ति सकारात्मक दिशामा अघि बढ्ने अपेक्षा गर्नुपर्दछ ।पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीकर्ता झुम्मिएका थिए ।
नेप्से सूचक आइतबार २२.३९ अंकले बढेर १३१४.५१ विन्दुमा आइपुगेको छ । १७६ कम्पनीको १ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ४९ लाख २१ हजार ०८४ कित्ता सेयर खरिदबिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक समूहको परिसूचक भने घटेको छ ।