काठमाडौं : सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्द तीन महिना थप गरेकोे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् कार्यालयले चिनी आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको हो।
यसअघि मन्त्रिपरिषद् बैठकले गत भदौ ३१ गते एक वर्षमा ९४ हजार ९ सय मेट्रिक टन मात्रै आयात गर्न पाउने कोटा निर्धारण गरेको थियो। यो अवधि चैतमा सकिएपछि सरकारले पुनः वैशाखदेखि असारमसान्त लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्द लगाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सह प्रबक्ता उर्मिला केसीले जानकारी दिइन्।
गत चैत २५ गते नेपाल उद्योग परिसंघको वार्षिकोत्सवमा चिनी व्यापारीले झुक्याएर आफूमार्फत आयातमा अंकुश लगाउन लगाएको प्रधानमन्त्री केपी ओलीले अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको एक साताकै अन्तरालमा चिनी आयातमा परिमाणात्मक प्रतिबन्धको अवधि थप गरिएको हो। अंकुश लगाइएपछि चिनीको मूल्य अकासिएर प्रतिकिलो एक सय पाँच रुपैयाँसम्म पु¥याइएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को कार्यालयले वैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म भारतसहित तेस्रो मुलुकबाट चिनी आयात गर्न नपाउने गरी प्रतिबन्धको अवधि लम्ब्याइएको हो। स्रोतका अनुसार स्वदेशी चिनी उद्योगीको दबाबमा सरकारले प्रतिबन्धको अवधि थप गरेको हो। स्रोतले भन्यो, ‘स्वदेशमा उत्पादन भएको चिनी हालसम्म बिक्री नहुँदा उद्योगीको दबाबमा अवधि थपिएको हो।’