भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। जसअनुसार विद्युत चुहावट अहिलेसम्मकै न्यून विन्दुमा झरेको हो।
केन्द्रका अनुसार गएको आर्थिक वर्षमा १८.५८ प्रतिशत रहेको विद्युत चुहावट चालू आर्थिक वर्षको चैत महिनामा अहिलेसम्मकै न्यून ८.४६ प्रतिशतमा झरेको हो।
केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले चालू आर्थिक वर्षको चैत महिनाको विद्युत चुहावट ८.४६ प्रतिशत अहिलेसम्मकै न्यून चुहावट भएको दावी गरे।
‘गएको फागुन महिनासम्मै ११.८८ प्रतिशत रहेको चुहावट चैतमा आउँदा ८.४६ प्रतिशतमा झार्न सफल भएका हौं’, उनले भने।
गत वर्षको चैत महिनामै विद्युत चुहावट १५.२९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७२/७३ मा ३७.०३ प्रतिशत विद्युत चुहावट रहेको थियो। सोही वर्षदेखि भक्तपुरमा विद्युत चुहावट निरन्तर आरालो लागेको केन्द्रको तथ्यांकले देखाउँछ।
भूकम्पपछि भक्तपुरमा विद्युत चुहावट नियन्त्रण अभियान कडाइका साथ कार्यान्वयनमा ल्याइएको थियो। त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४ मा चुहावट २८.०८ प्रतिशतमा झरेको थियो। आर्थिक वर्ष २०७४/७५ मा १८.५८ प्रतिशतमा झरेको केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए।