काठमाडौँ: सरकारका तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल हुँदैछ। शुक्रबार पेस भएको कार्यक्रममा शनिबार संशोधनका लागि समय दिइएको थियो।
मंगलबार यो प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा कांग्रेसले संशोधन प्रस्ताव हालेको छ भने नेकपाभित्र पनि असन्तुष्टि छ । तथापि नेकपाका सांसउदहरु मन नलागी नलागी यसलाई पारित गर्नुपर्ने बाध्यतामा छन् ।
संशोधन दर्ता अवधिमा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन्।प्रमुख दलका शीर्ष नेताहरुबाट छलफलको प्रारम्भ गर्ने तयारी संसद् सचिवालयको छ। छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन्।
शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्हरुलाई कार्यक्रमको समर्थन गर्न निर्देशन दिएका थिए।
प्रमुख प्रतिपक्ष दल काँग्रेसले सम्पूर्ण नीति तथा कार्यक्रममा सैद्धान्तिक प्रश्न उठाएको छ। सांसद् मीनेन्द्र रिजालसहित २४ सांसदले संशोधन दर्ता गर्दै संघीयताको मर्म विपरीत नीति तथा कार्यक्रम रहेको उल्लेख गरेका छन्। यस्तै, सम्बोधनमा प्रयोग भएमो मेरो सरकारको सट्टा नेपाल सरकार शब्द प्रयोग गर्न माग गरिएको छ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि संशोधन दर्ता गरेका छन्। सुवालले भ्रष्टाचार, अनियमितता, राष्ट्रिय स्वाभिमानको विषयमा नीति तथा कार्यक्रम स्पष्ट नभएको भन्दै संशोधन माग गरेका छन्। सुवालले १६ वटा बुँदामा नीति तथा कार्यक्रम संशोधनको माग गरेका छन्।