काठमाडौ: देशभर हाल ६४ वटा जिल्लामात्रै खुला दिशामुक्त घोषणा भइरहेका बेला देशकै राजधानीको रुपमा रहेको काठमाडौँ जिल्ला भने अझै खुला दिशा मुक्त हुन सकेको छैन।
सरकारी एक तथ्याङ्कलाई मात्रै विश्वास गर्ने हो भने पनि काठमाडौँमा हालसम्म पनि अझै १,३०९ घरधुरीमा शौचालय छैनभन्दा हामी जो कोही पनि एकैछिन् अचम्म मानु पर्ने स्थिति छ।
“हो यो वास्तविकता हो काठमाडौँमै १३ सय ९० घरधुरीमा अझै शौचालय छैनन्,” खानेपानी तथा ढल निकास विभागका वातारण तथा सरसफाई शाखाका प्रमुख देवेन्द्र कुमार झा भन्छन्।
घर भएर पानी शौचालय नहुनु भन्दा पनि काठमाडौँको प्रमुख समस्या भनेको बाग्मतीमा सोझै मिसिने ढलको उचित व्यवस्थापन हो यसको व्यवस्थापन नहुन्जेल काठमाडौँ ओडिएफ घोषणा गर्न निकै चुनौती पूर्ण हुनेछ- झाले भने।
यसका लागि काठमाडौँको बाग्मतीमा सोझै बहने ढलको निकाशा खोलासंगै अर्को वैकल्पिक नहरको व्यवस्था हुनुपर्दछ ताकी हाम्रो घरबाट निस्कने ढल पानी र दिशा खोलाहरुमा नदेखियोस, उनले भने।
खानेपानी तथा ढल निकास विभागको सहयोग र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल र वास मिडिया फोरमको संयुक्त आयोजना गरिएको एक कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार काठमाडौँमा हाल चार लाख ३६ हजार ३४४ घरधुरी छन् जसमध्ये १३०९ घरधुरीमा शौचालय अझै छैन।

यस्तै काठमाडौँबाहेक आठवटा जिल्लाहरु- सिन्धुपाल्चोक, कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, मोरङ्ग, सर्लाही र बारामा गरी कूल ३६,१४१ घरधुरी अझै शौचालय बन्न बाँकि रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
सरकारले सत प्रतिशत ओडीएफ घोषण गर्ने राष्ट्रिय लक्ष यही असार मसान्तसम्म मात्रै बाँकी रहेको अवस्थामा १३ वटा जिल्लाहरु भने अझै ओडीएफ घोषणा हुन बाँकी नै छन्। यस अन्तर्गत ओडीएफ घोषण हुन बाँकी तर १०० प्रतिशत घरमा शौचालय बनेका जिल्ला भने भोजपुर, सोलुखुम्बु, दोलखा र काभ्रे रहेका छन्।
पछिल्लो दिनमा धादिङ्ग ओडीएफ हुने सबैभन्दा कान्छो जिल्ला हो जुन चैत २४, २०७५ सालमा घोशाना भएको थियो।
यस्तै, कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताएका छन् ।
‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सबैले अन्तिम धक्का दिनुपर्ने आवश्यकता औल्याए।
सचिव शर्माले भने, ‘देशकै राजधानी काठमाडौलाई पनि खुला दिसामुक्त घोषणा गर्न बाँकी छ, अरु जिल्ला ओडिएफ हुँदा पनि काठमाडौ हुन सकेन भने यो राष्ट्रकै लागि लज्जाको बिषय बन्छ, त्यसैले हामी सबै यो अभियानमा एकजुट भएर लागौं ।’

उनले तराईमा बनेका शौचालय मध्ये ६० देखि ७० प्रतिशत शौचालयहरु प्रयोगमा आएको दाबी गरे। विदेश गएका युवाले त्यहाँ देखेर, सिकेर आफ्नो घरमा पनि शौचालय बनाएर प्रयोग गर्न थालेको आफ्नो अध्ययनले देखाएको बताए।
उनले खुला दिसामुक्त घोषणा भनेको दिसा छोप्ने काम मात्र भएकाले ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइका कुराहरु पूर्ण सरसफाइ अभियानले समेट्ने बताए।
कार्यक्रमका सहभागीहरुले काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न काठमाडौ महानगरपालिकाले चर्पी बनाउन बाँकी घरलाई चर्पी बनाउन लगाउनुपर्ने, सार्वजनिक स्थानमा शौचालय बनाउने कामलाई तीब्रता दिनुपर्ने, मिडियाले सरसफाइको बिषयलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले सरसफाइको अवस्था र चुनौतीका बिषयमा प्रस्तुत गरेका थिए।
यस्तै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलले सरसफाइ र आमसञ्चार र काठमाडौ मेडिकल कलेजका प्राध्यापक डा. सुनिल कुमार जोशीले सरसफाइ र स्वास्थ्यका बिषयमा प्रस्तुत गरेका थिए।
खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र वास मिडिया फोरमले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महासंघ अध्यक्ष राजेन्द्र अर्यालले गरेका थिए।