काठमाडौँ: नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट निवेदन माग गरेको हो।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार नियुक्तिका लागि सिफारिस गर्न आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ। सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय तहको अनुभव आवश्यक रहेको छ।
आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अघि त्यस्तो अनुमति त्याग गरेको प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले नागरिकता, शैक्षिक योग्यता, अनुभवसम्बन्धी प्रमाणपत्र, व्यक्तिगत विवरण तथा नेपालमा लगानीको अवस्था, सम्भावना र लगानी प्रवर्द्धनसम्बन्धी रणनीतिक योजना समेटिएको कार्ययोजना पेश गर्नुपर्नेछ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र निवेदन पेश गर्न सकिने जनाइएको छ।
