काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज (बुधबार) साँझ स्वदेश फर्कंदै छन्।
साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुग्ने कार्यक्रम छ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख २६ गते भ्रमणमा निस्किएका थिए।
प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।
वैशाख २६ देखि ३० सम्म भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली कम्बोडियाको औपचारिक भ्रमणमा छन्।
ओलीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु भ्रमण दलमा सहभागी छन्।
प्रधानमन्त्रीको भ्रमणका क्रममा भियतनाम र कम्बोडियासँग द्विपक्षीय हितका विषयमा विभिन्न सहमति, समझदारी र छलफल भएका छन्।