काठमाडौँ: सोलुखुम्बुका कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्।
कामिरिता आज (बुधबार) बिहान ७ः५० बजे २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथमा पुगेका हुन्।
उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधार शिविररमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।
सोलुखुम्बुको थामे निवासी ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।
उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सले पनि यसको पुष्टी गरेको छ। कम्पनीका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै भने, ‘यो राष्ट्रकै गौरवको कुरा हो।’
सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।