काठमाडौँ: त्रिशूली थ्रीए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। आयोजनाको विद्युत गृहबाट उत्पादित ३० मेगावाट विद्युत बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे। आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ।
आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ।
आयोजनाको सबै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ। आयोजनाको भुमिगत विद्युत गृहबाट सफलतापूर्वक विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख फणीन्द्र जोशीले जानकारी दिए।
नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि विद्युत उत्पादन सुरु भएको हो। यसअघि चरण चरणमा गरिएका सम्पूर्ण उपकरण परीक्षणपछि विद्युत् उत्पादन सुरु गरिएको प्रमुख जोशीले बताए।
आगामी असारदेखि सम्पुर्ण युनिट पुरै उत्पादन गरिसकिने जनाइएको छ।