काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ९१ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ६९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।
भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो नौ महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को नौ महिनामा नेपालको ब्यापार घाटा २२ दशमलब ०९ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात २१ दशमलब ७३ प्रतिशतले र निर्यात १६ दशमलब ८८ प्रतिशतले बृद्दि भएको छ ।
निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुँदा समीक्षा अवधिमा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार २१ दशमलब ४२ प्रतिशतले वृद्धि भई ११ खर्ब ३१ अर्ब पुगेको छ ।
सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा एक खर्ब ५२ अर्ब रहेको छ ।
समीक्षा आवधिमा नेपालबाट भारतमा ४४ अर्ब १८ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ६ खर्ब ८८ अर्ब बराबरको सामान आयात भएको छ ।
त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा एक अर्ब ५२ करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा एक खर्ब ५३ अर्ब बराबरको सामान आयात भएको छ ।