काठमाडौँ: उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट
सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेको छ ।
२०७५ चैत मसान्तसम्ममा यस बैंकको २३ अर्ब ६ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा १ अर्ब ४९ करोड उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।
भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७५ चैत मसान्तमा रु.२ अर्ब ५८ करोड रहेको छ । यस्तो कर्जा १५७७ जना ऋणीले उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।
२०७५ चैत मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा १४,६३९ जना ऋणीले उपयोग गरेका छन्। यस अन्तर्गत रु.२५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने रु.९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ रु.१३ करोड ६४ लाख कर्जा बक्यौता रहेकोछ ।