पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ ।
घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ भने सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली पनि अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ ।
गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको थियो ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।