काठमाडौँ: एचआइभी संक्रमित पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। २५ वर्षदेखि एचआइभीको संक्रमित रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।
उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन्। उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
श्रेष्ठ काठमाडौंदेखि ६ जना टोलीसँग चैत अन्तिम साता लुक्ला, नाम्चे सगरमाथा आधारशिविर हुँदै सगरमाथा उक्लेका थिए । यसअघि २०१५ मा पनि उनले सगरमाथा आरोहणको कोशिस गरेका थिए । तर त्यतिबेला भूकम्प गएका कारण बेसक्याम्पबाटै फर्किएका थिए । सगरमाथा आरोहणको दोस्रो प्रयासमा उनी सफल भएका हुन् ।
गोपाल श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा सगरमाथा आरोहण गरेका हुन्।
स्टेप अप क्याम्पेन सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ् ला पास (५४१६ मि.), आइस ल्याण्ड पिक (६१८९), र भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका थिए।