काठमाडौं : प्रदेश र स्थानीय तहको अधिकार सूचीमा परेर संघबाट हस्तान्तरण भएका आयोजना दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने भएको छ।
यसका लागि पर्याप्त स्रोत व्यवस्थापन गर्नुपर्नेछ। मन्त्रिपरिषद्बाट अनुमोदन भएको ‘संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजना वर्गीकरण तथा बाँडफाँटसम्बन्धी मापदण्ड, २०७६’ ले संविधानको व्यवस्था तथा नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७४ अनुसार तीनै तहका सरकारले आ–आफ्नो अधिकार सूचीभित्रपर्ने आयोजना र विकास कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ।
संघबाट हस्तान्तरण गर्नुपूर्व आर्थिक दायित्व सिर्जना भइसकेका आयोजना तथा कार्यक्रमको हकमा आयोजना सम्पन्न गर्न आवश्यक बजेट संघले सशर्त अनुदानका रूपमा उपलब्ध गराउनुपर्नेछ। प्रदेश र स्थानीय तहले यस्ता आयोजना कार्यान्वयन गर्न पूरक स्रोत व्यवस्थापन गरी अधूरा आयोजना दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने मन्त्रिपरिषद्द्वारा अनुमोदित मापदण्डमा उल्लेख छ।
कार्य प्रगतिमा रहेको दुई वर्षभित्र सम्पन्न हुने कार्यक्रम तथा आयोजना सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबाट स्रोत सुनिश्चिततासहित बजेट प्रस्ताव गर्नुपर्नेछ। राष्ट्रिय योजनाआयोगले तयार गरेको मापदण्ड मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको हो।
संघले प्रदेश र स्थानीय निकायमा आयोजना हस्तान्तरण गर्दा स्रोत र ठेक्काको अभिलेखसहित हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। चालु वर्ष ठेक्काको अभिलेख हस्तान्तरण नगर्दा प्रदेश र स्थानीय तहले आयोजना कार्यान्वयनमा समस्या रहेको बताएका थिए।
स्पष्ट मापदण्ड अभावमा तल्लो तहका सरकारमा आयोजना र कार्यक्रम हस्तान्तरण र कार्यान्वयनमा समस्या रहँदै आएको छ। यो मापदण्डले समान किसिमका विकास कार्यक्रमलाई गाभेर संविधानबमोजिम जुन तहले सञ्चालन गर्ने हो सोही तहमा हस्तान्तरण गर्न प्रस्ताव गरेको छ। यस्तै, ०७५/७६ मा सम्पन्न हुने आयोजनाको हकमा भने सञ्चालन र मर्मतका लागि जुन तहको सरकारको जिम्मेवारी हो, उसैले स्रोत व्यवस्थापन गरी सञ्चालन र मर्मत गर्नुपर्नेछ। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।