काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबारदेखि पुनः कार्यभार सम्हालेका छन् ।
सर्वोच्च अदालतको आदेश पाएपछि उनी पुनः काममा फर्किएका हुन् । यसअघि ओली सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय विरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् । अदालतले अन्तरिम आदेश जारी गर्दै काममा फर्काउन सरकारलाई निर्देशन दिएको थियो । सरकारी निर्णयको अन्तिम फैसला आउन भने बाँकी छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले साउद मंगलबारदेखि पुनः काममा फर्किएको नेपाली पैसालाई जानकारी गराए ।
साउदले गत बुधबार सरकारले आफूलाई अन्यायपूर्ण र गैरकानुनी तरिकाले हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आइतबार सुनुवाई गर्दै सर्वोच्च अदालतले साउदलाई तत्काल काम फर्काउन सरकारका नाममा आदेश जारी गरेको हो ।
धितोपत्र ऐन अन्तर्गत खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएकाले बिना कारण हटाउन नमिल्ने उनको भनाई थियो । खुला प्रतिस्पर्धामा नियुक्त भएकाले बिनाकारण हटाउन नपाइने जिकिर उनले अदालत समक्ष पनि गरेका थिए । साउदलाई पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गत असोज २३ गते नेप्से प्रमुखमा नियुक्त गरेको थियो ।
उता, सरकारले उनलाई हटाएर अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो। साउद पुनः काममा फर्किएपछि अर्याल अर्थ मन्त्रालय नै फिर्ता हुनेछन् ।