काठमाडौं: गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या एकै जनाले गरेको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ ।
घटनाको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुई परिवारको ९ सदस्यको हत्या मानबहादुर माखिम एक्लैले गरेर आत्हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
घटना भएलगत्तै घटनाको अनुसन्धान गर्न पाँचथर पुगेका ब्यूरोका एसपी उमा चतुर्वेदीले भने, ‘घटनामा अन्यको संलग्नता रहेको कुनै संकेत भेटिएन । प्रहरीको प्रारम्भिक निष्कर्षमा एउटै व्यक्तिले हत्या गरेको पाइएको छ ।’
हाल एसपी चर्तुदेवी ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् । अनुसन्धान गरिरहेको प्रहरी टोलीले सामूहिक हत्यामा अरू कसैको संलग्नता छ कि भन्नेतर्फ पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनामा मारिएका धेरैजसो प्रतिकार गर्न सक्ने उमेरका थिएनन् ।
यता, घटनामा आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले पनि एक जना हतियारधारी मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।
मानबहादुर र हत्या भएको परिवारबीच सम्बन्ध बिग्रिएको कुरा बाहिर आउनु, हत्या भएलगत्तै उनले आत्महत्या गर्नु, आत्महत्या गरेको स्थान नजिकै रगतले लतपतिएको कपडा र हतियार भेटिनु र घटनामा बाँच्न सफल बालिकाले घटना भएको बेला एक जनालाई मात्र देखेको बयान दिनुले सामुहिक हत्यामा मानबहादुरकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान त्यतातिर सोझ्याएको थियो ।
हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता इन्सपेक्टर अनिल पौडेलले ९ जनकै रगत संकलन गरेर परीक्षणको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको र प्रहरी त्यही परीक्षणको रिपोर्ट पर्खिरहेको जानकारी दिए ।
सामूहिक हत्या प्रकरणमा ज्यान गुमाउनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
बमकुमार फियाक मानबहादुरका ससुरा हुन् । उनीहरूको घर १५ मिनेट पैदल दुरी रहेको छ ।