काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरुको ब्राण्डिङमा जान सुझाव दिएका छन् ।
राजधानीमा बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उनले भने– ‘नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं, तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्छ त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबारदेखि भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट शुरु भएको छ ।
मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै उनले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने औैंल्याए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताए ।
उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उनले सरकारले स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तराष्टिय« नियोगसँग सहकार्य गर्ने समेत बताए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उनले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाई राखे ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमा उत्पादित वस्तुहरुलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को आयोजना गरिएको बताए ।
घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहेको जानकारी दिए ।
