नटिङघम: अस्ट्रेलियाले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पार्दै उपाधि रक्षाको बलियो संकेत दिएको छ । एस्ली नर्सले नाथन कटलर नाइलको अन्तिम चार बलमा लगातार चौका प्रहार गरे पनि वेस्ट इन्डिज बिहीबार अस्ट्रेलियासँग १५ रनले पराजित हुन पुग्यो ।
मिचेल स्टार्कले ५ विकेट लिएपछि २ सय ८९ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेट गुमाई २ सय ७३ रनमात्र बटुल्न सक्यो । यसअघि ७९ रनमा ५ विकेट गुमाएको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुनुअघि २ सय ८८ रन जोडेको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका कटलर नाइलले ६० बलमा ९२ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो स्कोरमा उभ्याए ।
अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो । पाँच पटकको विजेता अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजितगरेको थियो । वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटले जित निकालेको थियो ।
ट्रेन्ट ब्रिजमा अस्ट्रेलिया ३८–४ स्थितिमा पुग्दा कटलर नाइलले कीर्तिमानी इनिङ्स खेले । विश्वकपमा आठौं नम्बरको ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर हो । जिम्बावेका हिथ स्ट्रिकले बनाएको ७२ रन विश्वकपमा आठौं नम्बरका ब्याट्सम्यानको यसअघिको उच्च स्कोर थियो । कटलरले ८ चौका र ४ छक्का प्रहार गर्दै पूर्व कप्तान स्टिभ स्मिथसँग सातौं विकेटमा ८९ बलमा १ सय २ रन जोडे । स्मिथले ७३ रन बनाए । १ सय ३ बलको इनिङ्समा उनले ७ चौका प्रहार गरे ।
डेविड वार्नर ३, कप्तान आरोन फिन्च ६, उस्मान ख्वाजा १३ र ग्लेन म्याक्सवेल शून्यमा आउट भएका थिए । एलेक्स केरीले ५५ बलमा ४५ रन बनाई आउट भएपछि कटलर नाइल र स्मिथ जमेका थिए । वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ३ तथा ओसान थोमस, सेल्डोन कोटरेल र एन्ड्रयु रसेलले २–२ विकेट लिए ।
ओपनर साई होपले ६८ र कप्तान जेसन होल्डरले ५१ रन बनाए पनि वेस्ट इन्डिजलाई जित दिलाउन सकेनन् । निकोलस पूरनले ३६ बलमा ४० तथा ओपनर क्रिस गेलसँगै सिमरन हेटमेरले समान २१ रन बनाए । स्टार्कले वेस्ट इन्डिजलाई आघात पार्दै यस विश्वकपको एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी बने । उनले अन्तिम ४ विकेट ११ बल अन्तरमा लिएकाथिए । वेस्ट इन्डिज विजयतर्फ अगाडि बढिरहेको समयमा स्टार्कले एकै ओभरमा रसेल (१५) र होल्डरलाई आउट गरे । होल्डरले ५७ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।