काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेमूर्खहरु पनि रहेको बताएका छन् ।
२ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरीब बनाउने राजतन्त्र फेरि चाहियो भन्नु मूर्खतापूर्ण भएको उनले टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’
प्रधानमन्त्रीले भने ‘धेरै लामो समयसम्म बोल्न नपाइने लेख्न पढ्न नपाइने राणा शासनको गुणगान गाएर बस्नेहरुले, २ सय ४० वर्ष शासन गरेर नेपाललाई गरिब बनाउने राजतन्त्र फेरि चाहियो भन्ने मूर्खहरु पनि नेपालमा छन् ।’
प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सचेत गराए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए ।