काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच पेरिसमा एक सहमतीपत्र मा हस्ताक्षर भएको छ ।
नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफ बीच सहमतीपत्रमा हस्ताक्षर भएको हो महासंघले जनाएको छ ।
प्रधानमन्त्रीको फ्रान्सको उच्चस्तरीय भ्रमणका अवसरमा सो सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन् ।
महासंघ र मेडेफ बीच यस अघि पनि निरन्तर सहयोग एवं सहकार्य हुदै आएको छ । आपसी सहमतीपत्रमा, एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्र बीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।
समारोहमा प्रधानमन्त्रीले यो सहमती दुई देश बीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास गरे ।
फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्तामा प्रधानमन्त्रीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे ।
साथै उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारे ।
महासंघका अध्यक्ष राणाले महासंघ र मेडेफ बीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्स बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरिन् ।
नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमती कोशेढुंगा हुने दावी गर्दै अध्यक्ष राणाले सहमतीपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता समेत जनइन् ।