काठमाडौँ: प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आइतबार असार १ गते जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्।
नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्ने कार्यक्रम रहेको, सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधानसेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना सहभागी रहने छन्।
उक्त भ्रमणदल असार ०१ गते एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्गदु बेइजिङ्ग तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधानसेनापति महारथी थापासहितको उच्चस्तरीय भ्रमणदल भ्रमण सम्पन्न गरी मिति २०७६ असार ०७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।