काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ ।
मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै थियो ।
मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिए पनि जटिल काम आफैँमा थियो नै । त्योभन्दा बढी काम शुरु भएपछि लगातार भइरहेको वर्षाका कारण पनि जटिलता उत्पन्न होला भन्ने चिन्ता व्याप्त थियो ।
तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो ।
रातभर कहाँ काम गरियो भन्ने आम मानिसले खासै हेक्का पाउँदैनथे तर जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आज राति पूर्णरुपमा सम्पन्न हुने जानकारी दिए ।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो ।
चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिनेछ ।