काठमाडौँ: ठूला बैंकहरुबीच हुने भनिएको मर्जरको विषयले प्राथमिकता पाउँदा शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आज मंगलबार शेयर बजार परिसूचक नेप्से ११.०२ अङ्कले बढेर १२५३.०६ अंकमा उक्लिएको छ।
मंगलबार कारोबारको सुरुवाती चरणमा शेयर बजारमा खासै आकर्षण देखिएको थिएन। कारोबारको अढाई घण्टापछि एकाएक शेयर बजारमा सुधार देखिएको थियो। यसबाट कारोबार रकम समेत बढेको छ।
१७० कम्पनीका १४ लाख ६६ हजार कित्ता शेयर ४२ करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भए। सबैभन्दा बढी मेघा बैंकको चार करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भयो।
मेगा बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिने खबरले मेगाको कारोबार बढेको ढकालको भनाइ छ। मेगापछि प्रभु बैंकको बढी कारोबार भयो। प्रभुको दुई करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
कारोबारमा आएका १२ समूहको शेयर कारोबारमा ९ समूहको उपसूचक बढ्यो। तीन समूहको उपसूचक घटेका छन्।
