काठमाडौं: बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसी अन्तत: काठमाडौँ आज बाध्य भएका छन् ।
स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. केसी निकै दुखी हुँदै अस्पतालबाट बाहिरिएका थिए ।
सरकारले उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएको भन्दै आज बिहान हेलिकोप्टर पठाएको थियो ।
मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन जुम्ला गएका थिए । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।