काठमाडौं: शेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मौद्रिक नीतिमा बैंक मर्जरको नीति कस्तो आउला भनेर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेको अनुमान गरीएक छ जसले नेप्सेला झन् झन् तल झरेको छ ।
एक महिना भन्दा लामो अवधिदेखि बजार निरन्तर घटिरहेको छ । लगातार घट्दा अधिकांश कम्पनीको भाउ निकै सस्तो भएको छ ।
आज नेप्से सूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । १६८ कम्पनीको ५७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ९८ हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
११ वटा समूहको सेयर कारोबार भएकामा ३ समूहका सूचक बढेका छन् भने बाँकी समूह राता भएका छन् । वाणिज्य बैंक समूहको सूचक १.७८ अंकले बढेको छ ।
कारोबार रकममा सिभिल बैंक संस्थापक सेयरले अग्रता लिएको छ । यसको १७ करोड ५३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र नेपाल बैंक परेका छन् ।