काठमाडौँ: शुक्रबार विहान धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा पुगेको यतिको जहाज पन्छ्याउन थप समय लाग्ने देखिएपछि विमानस्थलले थप दुई घण्टा नोटाम जारी गरेको छ।
विमानस्थलले ७ बजेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्नका लागि पुनः नोटाम जरी गरेको जनाएको छ।
भारी वर्षाका कारण जहाज भएको ठाउँमा हिलो र दलदले भएको कारण जहाज पन्छ्याउन अप्ठेरो भइरहेको विमानस्थलले जनाएको छ।
‘हामी प्रयासरत छौँ। सुरक्षाकर्मीहरु जहाज पन्छ्याउन लागिपर्नुभएको छ। तर पानी परेर हिलो र भासिने समस्या सिर्जना भएको कारण कारण जहाज पन्छ्याउन अफ्ठेरो भइरहेको छ।’ विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने।
शुक्रबार विहान यति एयरलाइन्सको जहाज चिप्लिएपछि दैनिक हुँदै आएको नियमित उडान रोकिएको छ।
जहाज निकाल्नका लागि समय लाग्ने देखिएपछि विमानस्थलले घटना भएलगत्तै दिँसो २:०० बजेसम्मका लागि नोटाम जारी गरेको थियो। २ बजे सम्म पनि मौसम नखुलेपछि साँझ ५ बजे सम्मका लागि विमानस्थल बन्द गर्ने सूचना निकालिएको थियो। ५ बजेसम्म पनि मौसम नखुलेपछि बेलुका ७ बजे सम्म बिमानस्थल बन्द गर्ने सूचना निकालिएको हो।