काठमाडौँ: अत्याधिक पानी परेपछि कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ ।
कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।
पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो ।
कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको,केही घण्टा पछि खोल्न शुरु हुन्छ।
सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता,तयारीको लागि सूचना सम्प्रेषण भईसकेको छ।
