काठमाडौं: केहि दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार दिउँसोसम्म बाढी र पहिरोमा परेर २६ महिला र ४१ पुरूषको मृत्यु भएको हो ।
यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।
बाढीपहिरोमा परेर ११ बालक र ९ बालिकाको समेत मृत्यु भएको छ । ९ जनाको शव फेला परे पनि सनाखत हुन बाँकी छ । बाढीपहिरोमा ३१ वटा जिल्ला प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।